सत्तारुढ प्रमुख तीन दल विच राजदूत भागबण्डाकाे टुंगो

Jhalkonepal

 काठमाडौं, असार ६

सत्तारुढ प्रमुख तीन दलले राजदूतको भागबण्डा टुंगो लगाएका छन् ।

बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबण्डा टुंग्याएको हो ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

बिहीबार साँझ ६ बजेदेखि ८ बजेसम्म तीन नेताबीचको छलफलमा एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने शीर्ष नेता निकट स्रोतले बताएको छ ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण अहिले एक जना मात्र दिइएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको सचिवालयले  दिएको जानकारी अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठक अगावै केही राजदूत नियुक्त हुन सक्नेछन् । ‘कुन देशमा को राजदूत बन्ने भन्ने नाममा प्रवेश गरिएको छैन, तर संख्या आजबाट टुंगियो’, सचिवालयले बतायो ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाँदैछन्, त्यसअघि राजदूतको नाममा मोटामोटी सहमति निकाल्न खोजिएको स्रोतले बतायो ।

रास्वपाले महत्वपूर्ण मानिएका देश भारत, अमेरिकाका राजदूतमध्ये एक आफूलाई दिन माग गरे पनि प्रचण्ड र ओली तयार भएनन् ।

प्रतिक्रिया