चाडपर्वमा हवाई भाडा नबढाउन प्राधिकरणको आग्रह, अधिकतम भाडादरमा बिक्री नगर्न वायुसेवाप्रदायकलाई सचेत

Jhalkonepal

काठमाडौं- दसैँ, तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा अनियन्त्रित रूपमा नबढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार चाडबाडको बेला भाडा दोब्बरले बढेको गुनासोहरू आएपछि सम्बन्धित कम्पनीहरूलाई सचेत गराइएको हो। उनले भने,'सरकारले तोकेको अधिकतम भाडादरभन्दा कममा टिकट बिक्री गर्न र यात्रुलाई सहज सेवा दिन आग्रह गरेका छौं।'

भुलका अनुसार वायुसेवा कम्पनीहरूलाई अधिकतम भाडादरको टिकट नबेच्न, र त्यसभन्दा एक(दुई तह तल्लो श्रेणीको टिकटहरूमा प्राथमिकता दिन आग्रह गरिएको छ। उनले उदाहरण दिँदै भने, “बुद्ध एयरले आन्तरिक उडानतर्फ धनगढीको टिकट १२ हजारभन्दा माथि नबेच्ने तयारी गरेको छ। माग धेरै हुँदा माथिल्लो श्रेणीको टिकट बिक्री भएको पाइए पनि, हामीले अधिकतम सीमा ननाघ्न निर्देशन दिएका छौं।”

यात्रुको चापलाई व्यवस्थापन गर्न प्राधिकरणले चाडपर्वका लागि अतिरिक्त उडानको समेत व्यवस्था गरेको छ।

सामान्य अवस्थामा नेपालमा दैनिक करिब १० हजार यात्रु आन्तरिक उडानमार्फत यात्रा गर्ने गरेका छन्। तर दशैँ–तिहारमा यात्रु संख्यामा उल्लेखनीय वृद्धि हुने हुँदा यो संख्या दैनिक १८ हजारसम्म पुग्ने प्राधिकरणको अनुमान छ।

प्रतिक्रिया