उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

Jhalkonepal

 काठमाण्डाैं , चैत्र २४ 

      आगामी वैशाख १५ गते  इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । आजै साँझ ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिन भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ ।

आयोगले आइतबार अपराह्न ३ बजेदेखि चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र जाँचबुझपछि चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी  चुनाव चिह्न प्रदान गरिने कार्यतालिका छ ।

इलाम २ बाट निर्वाचित नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुभाष नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

त्यसैगरी बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि उप निर्वाचन हुन लागेको हो । 

प्रतिक्रिया