कीर्तिपुर क्रिकेट रंगशालाको पूर्वाधार तीव्रताका साथ गर्न प्रधानमन्त्रीको निर्देशन

Jhalkonepal

काठमाडौं, माघ २३

कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र उक्त रंगशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए । रंगशालामा प्यारापिट र ल्फडलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मूल्याङ्कको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।

प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गरे ।

बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भए देखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति चिन्ता प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशनमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरुको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।

 

प्रतिक्रिया