काठमाडौं, चैत ५
सरकारले नेपाल प्रहरीको ३१औं प्रमुखमा दीपक थापालाई नियुक्त गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ३० वर्षे सेवाअवधि सकिन केही घन्टा बाँकी रहँदा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दाबेदार तीन अतिरिक्त महानिरीक्षक (एआईजी)मध्ये पहिलो वरीयताका एआईजी थापालाई प्रहरी नेतृत्व सुम्पेको हो ।
‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्न सक्नेछ,’ प्रहरी नियमावलीको दफा ४१ मा उल्लेख छ ।
त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरूबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्नु सामान्य बन्दै गएको छ । यसपटक पनि आकांक्षीहरूले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास जारी राख्दा सरकारले पहिलो वरीयतामा रहेका थापालाई नै आईजीपी बनाएको हो । यसअघि वरीयता मिचेर आईजीपी बनाउँदा सरकारले अपजसको भारी बोक्नुपरेको थियो । यद्यपि, अन्य दुई आकांक्षीभन्दा थापा दुई साताअघि मात्रै एआईजीमा बढुवा भएका थिए ।
प्रहरी महानिरीक्षक कुँवर आइतबार रातिबाट अवकाशमा गइसकेका छन् । कुँवरलाई पनि तत्कालीन सरकारले वरीयतामा एक नम्बरमा रहेकै कारण ३०औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक थापाले मंगलबार (आज)बाट औपचारिक रूपमा कार्यभार सम्हाल्दै छन् । मंगलबार बिहान गृहसचिव गोकर्णमणि दुवाडीबाट दज्र्यानी चिह्न (फुली) लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।