काठमाण्डौ, असोज ११
आज सेप्टेम्बर २७ अर्थात् ४५ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी
मनाइँदैछ ।
दिवसलाई उल्लासमय बनाउन पर्यटन
क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई
भव्य रुपमा मनाउन लागिएको हो ।
दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद
पाण्डेको संयोजकत्वमा ४५ औँ विश्व पर्यटन दिवस मूल समारोह समिति
गठन गरिएको छ ।
‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी
पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस
मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई
स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना
गरिनेछ ।