पर्यटन व्यवसायीका समस्याको समाधानमा मन्त्रालय प्रतिबद्धः मन्त्री श्रेष्ठ

Jhalkonepal

काठमाडौं- विश्व पर्यटन दिवस २०२५ को अवसरमा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

उनका अनुसार बागमती प्रदेश नेपालको ८० प्रतिशतभन्दा बढी पर्यटक भित्रने प्रमुख क्षेत्र हो र यस क्षेत्रको समुचित विकासले समग्र प्रदेशको आर्थिक समृद्धि सम्भव छ। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र सुरक्षित भए पनि यसको सन्देश पर्यटकहरूसम्म प्रभावकारी रूपमा नपुगेकाले उद्योगमा गम्भीर असर परेको बताएका थिए।

कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले तीन अर्बभन्दा बढीको बजेट विनियोजन गरेको जानकारी दिए। उनले नयाँ गन्तव्यहरूको सम्भाव्यता अध्ययन, प्रचारप्रसार र पूर्वाधार विकासमा मन्त्रालय सक्रिय रूपमा लागेको स्पष्ट पारे।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटेल व्यवसायी महासंघ, हान, टान, टुर गाइड संघलगायत पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपालमा पर्यटन सुरक्षित भए पनि यो सन्देश समयमै प्रवाह गर्न नसक्दा ठूलो आर्थिक क्षति भइरहेको गुनासो गरे।

मन्त्री श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई बागमती प्रदेशका विविध पर्यटकीय स्थलहरूको भ्रमण गर्न आग्रह गर्दै पर्यटनलाई प्रदेश समृद्धिको आधार बनाउने उद्देश्यले सरकार गम्भीरताका साथ अघि बढिरहेको बताएका छन्।

प्रतिक्रिया