स्रोत नखुलेको १४ लाख १९ हजारसहित तीनजना पक्राउ

Jhalkonepal

जनकपुरधाम, असोज १

सिरहामा स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका १० बस्ने ५७ वर्षीय मजित मियाँ, २८ वर्षीय मो. अलाउदिन र २३ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा हुन्डी सम्बन्धी कसुर गर्ने ३ जना रकम बोकी भगवानपुर चोकतर्फबाट उत्तर लहानतर्फ गइरहेको गोप्य सूचनाको आधारमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ स्थित भगवानपुर लहान सडक खण्डमा चेक प्वाईन्ट राखी स ९ प ११६२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुको साथबाट १४ लाख १९ हजार ८९० रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रहरीले मजितको साथबाट नेपाली ८ लाख १४ हजार ८९० रुपैयाँ र भारतीय ४ सय रुपैयाँ, मो. अलाउदिनको साथबाट नेपाली २ लाख ४ हजार ५ सय रुपैयाँ र चौधरीको साथबाट नेपाली ४ लाख ५ सय रुपैयाँ रुपैयाँ बरामद गरेको प्रवक्ता सापकोटाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

जिल्ला अदालत सिरहाबाट हुण्डी सम्बन्धि कसुरमा ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

 

प्रतिक्रिया