काठमाडौं- अघिल्लो आर्थिक वर्षको उखु अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरूले फेरि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतका किसान समूहहरूले प्रति क्विन्टल ७० रुपैयाँका दरले बाँकी अनुदान रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्। प्रदर्शनमा सहभागी किसानहरूले उखु कृषक शोषण बन्द गरू, 'अनुदान रकम तुरुन्त भुक्तानी गरू, 'एकतर्फी मूल्य निर्धारण स्वीकार्य छैन' लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
महोत्तरीका उखु उत्पादक संघका पूर्वअध्यक्ष उत्तम सिंह रानाले सरकारले नियमित रूपमा दिँदै आएको ७० रुपैयाँ प्रति क्विन्टलको अनुदान यस वर्ष कटौती गरेकाले आफूहरू सडकमा उत्रिन बाध्य भएको बताए। 'यो अनुदान त हरेक वर्ष पाइरहेका थियौं,' उनले भने, 'तर यसपटक सरकारले बिना सूचना कटौती गरिदियो। हाम्रो माग स्पष्ट छ- जुन रकम हामीले पाउने थिएँ, त्यो तत्काल सरकारले भुक्तानी गरोस्।'
उनले किसानको उत्पादन लागत बढिरहेको तर सरकारको बेवास्ताका कारण किसानहरू दोहोरो मारमा परेको गुनासो गरे।
उखु किसानहरूले यसअघि पनि पटक–पटक आफ्नो माग पुरा गराउन आन्दोलन गर्दै आएका थिए। तर, स्थायी समाधान नआउँदा उनीहरू वर्षैपिच्छे सडकमा उत्रिन बाध्य छन्।