विराटनगर- प्रहरीले विराटनगरबाट १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार विराटनगर–४, नोबेल अस्पताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा सुनसरी, हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम रहेका छन्। हबिबको साथबाट १३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
प्रहरीले उनीहरूले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ। आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक रहेको बताइएको छ।
दुवैजनामाथि विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२६ मङ्सिर २०८२, शुक्रबार १२:४५ मा प्रकाशित