मधेश सरकारको १०० दिन पुरा

Jhalkonepal

जनकपुर, असोज ९

मधेश प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको १०० दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य र श्रम बजार जस्ता क्षेत्रमा सुधार भएको दाबी गरेका छन् ।

१ लाख ५० हजार मेट्रिक टन रासायनिक मलको समयमै वितरण गरिएको, भेटेरीनरी सेवा र मत्स्य उत्पादनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याइपछि ५० हजारभन्दा बढी किसान लाभान्वित भएको उनको भनाइ छ ।

यस्तै  मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ३ सय बेड थप गरिएको र एमबिबिएस कार्यक्रमका लागि ५० सिट आरक्षित गरिएको पनि सरकारको उपलब्धिमा उल्लेख छ । जनकपुरधाममा अन्तर्राष्ट्रिय  क्रिकेट रंगशालाको डीपीआर, खेलाडी र प्रशिक्षकहरूको प्रोफाइल तयार पार्दै खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउने योजना अघि सारिएको दाबी गरिएको छ ।

मधेश सरकारले श्रम बजार सुधारका लागि दुई सय कम्पनीलाई लक्षित गरी व्यापक सर्वेक्षण गरेको र बेरोजगार जनशक्तिलाई आवश्यक तालिम दिएर रोजगारी सिर्जना गर्न पहल थालेको जनाएको छ ।


यातायात क्षेत्रमा सुधार, सवारीचालक अनुमतिपत्र समस्याहरू समाधान गरेको, सवारी साधन अभिलेखको डिजिटलाइजेसनले सेवा छरितो र प्रभावकारी भएको पनि मधेश सरकारले आफ्नो उपलब्धिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया