काठमाडौँ , चैत १४
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदर गर्न माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेकाअनुसार बुधवार पेश भएको घिसिङको रिट निवेदन आज दर्ता भएको हो। उक्त रिटको शुक्रवार सुनुवाइ हुने जनाइएको छ।
रिट निवेदनमा “नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय र सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर गरी उपरोक्त निर्णय एवं पत्र र कारबाहीको आधारमा निवेदकलाई नियुक्ति मितिदेखि ४ वर्षको अवधिअगावै सेवाबाट हटाउने कार्य नगर्नु र सेवामा रही नियमित कामकाज गर्न नरोक्नु नरोकाउनु, कुनै बाधा व्यवधान नगरी यथावत काम कारवाही गर्न दिनु भनी आदेश गरिपाउँ” उल्लेख गरिएको छ।
कुलमानको रिट निवेदनमाथि भोलि प्रारम्भिक सुनुवाइ हुनेछ। ४ महिना कार्यकाल बाँकी रहँदा गत सोमवारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो ।