नाजुक अवस्थामा बालगृहको गेटबाहिर नवजात शिशु फेला

Jhalkonepal

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५ मा रहेको ुहाम्रो घर बालगृहुको गेटबाहिर आइतबार दिउँसो एउटा नवजात शिशु भेटिएको छ।

बालगृहका वार्डेनले गेटबाहिर आवाज सुनेपछि हेर्दा त्यहाँ १२–१५ दिनको जस्तो देखिने सानो बच्चा फेला परेको हो । वेवारिसे फेला परेको नवजात शिशुको तौल मात्र ७५० ग्राम रहेको छ । शिशु अत्यन्तै कमजोर रहेको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार बच्चा भेटिएको केही मिनेटभित्रै सम्बन्धित निकायहरूलाई खबर गरिएको थियो। बालगृह, ‘सेफ हाउस’ र ‘ओसिएमसी’को संयुक्त प्रयासमा बच्चालाई तुरुन्तै हेटौंडा अस्पताल लगियो।

अस्पतालमा चिकित्सकहरूले नवजात शिशुको अवस्था गम्भीर देखेपछि थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरेको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन् ।

शिशु फेला पर्दा उसले लगाएका लुगा र साथमा भएका केही वस्तुको फोटो सुरक्षित गरिएको उपमहानगरपालिकाले जनाएको छ। घटना बारे अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीय निकायले यदि कोही आमाबुवा वा आफन्त हुनसक्ने व्यक्तिलाई जानकारी छ भने उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया