काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनले परम्परागत नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको भन्दै शर्माले नेतृत्व हस्तान्तरणको माग गरेका हुन्।
आन्दोलनले थिग्रिएको राजनीतिक प्रणाली, नेतातन्त्र र दलाली संस्कृतिको विरोध गर्दै नयाँ नेतृत्वको खोजी गरेको उनको भनाइ छ । शर्माले यस विषयमा पार्टी पंक्तिमा छलफल थालेका छन्।
जुलुसका क्रममा भदौ २३ गते हिंसा भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति र अन्य शीर्ष नेताहरूलाई सुरक्षाका लागि सेनाको सहायतामा सुरक्षित स्थानमा सारिएको थियो।
शर्माले माओवादी केन्द्रभित्र सम्पत्ति छानबिनको माग गर्दै स्वतन्त्र आयोग गठनको प्रस्ताव पनि अघि सारेका छन्। उनले नयाँ निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्नुपर्ने बताए।
पार्टीभित्र लामो समयदेखि सुधारको कुरा उठाउँदै आएका शर्माले यसअघि पनि केन्द्रीय समिति बैठकमा प्रचण्डमाथि प्रश्न उठाएका थिए। तर त्यो प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।