गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी

Jhalkonepal

इजरायल, जेठ १७

रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरायली अधिकारीले बुधबार यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहन सक्ने बताएका छन् ।

इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको सङ्केत गर्नुभएको छ ।हामी अहिले सन् २०२४ को पाँचौँ महिनामा छौं । हमास र इस्लामिक जिहादको सैन्य र सरकारी क्षमताहरू नष्ट गर्ने हाम्रो लक्ष्य हासिल गर्न हामी थप सात महिनाको लडाइँको अपेक्षा गर्दछौँ,” हानेग्बीले बताउनुभयो ।

हमासविरूद्धको कारबाही सुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू बुधबार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी टिप्पणीहरू आएका हुन् । आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको सिएनएनले जनाएको छ ।

इजरायली सरकारले हमास विरुद्धको युद्धको अन्तिम चरण रफाहमा प्रवेश हुने बताएको थियो । हमाससँग बन्धकहरूका फिर्तीबारे सम्झौतामा विचार भएपनि इजरायली युद्ध मन्त्रीमण्डलको अधिक कट्टर समूहले गाजामा रहेको बन्धकहरूको फिर्ती पश्चात लडाकू समूहको विनाशलाई प्राथमिकता दिँदै रफाह आक्रमण बढाउनपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया