सेती नदीमा बाढीः ६० परिवार सुरक्षित स्थानमा

Jhalkonepal

बैतडी,  असार  २३ 

सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि  स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”  


बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय इन्द्रबहादुर चन्दले बताउनुभयो ।  सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन् । विसं २०७८ कात्तिक  पहिलो साता बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो ।

प्रतिक्रिया