काठमाडौँ, भदाै ३१
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले
आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग
२ कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय
अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे
क्यानडाको ओन्टारियोमा शुरु हुनेछ। सात महिनापछि लामो फरम्याटमा मैदानमा उत्रन
लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण
छ। लिग–२ को पहिलो सिरिजमै घरेलु मैदानमा खराव प्रदर्शन गरेको नेपाललाई त्यो
कमजोरी दोहोर्याने छुट छैन।
नेपाल र क्यानडाले हालसम्म एक अर्काविरुद्ध ३ ओडीआई
खेल खेलेका छन्। जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ।
क्यानडा भ्रमणमा क्रममा
नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते
क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। एसोसिएट टोली
मध्येको शीर्ष टोली बन्न नेपालले होम ग्राउन्डका मात्रै नभएर अवेका खेलहरु पनि
जित्नु आवश्यक छ।
क्यानडापछि नेपाल स्कटल्यान्ड र
अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ। भारत
र श्रीलंकामा गरेको तयारी, टी–२०
विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च
मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ
क्यानडा भ्रमणमा छ। क्यानमा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका
आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ।