पोखरा, सावन ५
कोरोना संक्रमणबाट पोखरामा एक जना महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।
कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयलका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।