काठमाडौं- अर्थविद् चन्द्रमणी अधिकारीले नेपालको उच्च नेतृत्व तहमा रहेका व्यक्तिहरूमा समय व्यवस्थापनको अभाव र अरुको कुरा सुन्ने इच्छाशक्ति नै नरहेको बताएका छन्।
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तक विमोचन कार्यक्रमको अवसरमा बोल्दै उनले देशको नीतिगत निर्णयमा विद्वान, स्रष्टा र वैज्ञानिकहरूको सल्लाहलाई बेवास्ता गरिने गम्भीर टिप्पणी गरे।
“मन्त्रीहरू आउँछन्, आफ्ना कुरा राख्छन्, तर अरुको कुरा नसुनी हिँड्छन्। न समय छ, न चाहना, न धैर्यता,” अधिकारीले भने।
२८ वर्ष शिक्षण क्षेत्रमा बिताएका अधिकारीले सचिवदेखि मन्त्रीसम्मका प्रशस्त पदाधिकारी तयार पारेको अनुभव सुनाउँदै भने — “यदि कुनै मन्त्रीलाई एकछिन उभ्याउन पाइयो भने हामी त्यसलाई गौरव ठान्छौं। मिडियामा पेज भरिन्छ, तर गुण हेर्दैनौं, पात्र मात्रै हेरिन्छ।”
उनका अनुसार, शक्तिशाली राष्ट्रका नेताहरू व्यस्तताको बाबजुद समय व्यवस्थापन गर्न सक्षम हुन्छन्, तर हाम्रो नेतृत्व तह त्यो अभ्यासमा चुकिरहेको छ।
अधिकारीले नीतिगत छलफलभन्दा पद र लोकप्रियता केन्द्रित राजनीति हाबी भएको उल्लेख गर्दै त्यसले देशको विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरिरहेको बताए।