धादिङ, असार २९
१६ वर्षीया
किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार
र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।
जिल्ला
अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र
पाँच जनालाई कसुर कायम गरेको हो । न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले
शुक्रबार जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।
फैसलाअनुसार
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा
नगरपालिका–६ की कविता बानियाँ (आचार्य) र सोलुखुम्बूको नेचा सल्यान गाउँपालिका–२
की कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष
कैद र एक लाख ७५ हजार जरिवानाको सजाय भएको जिल्ला अदालतका श्रेस्तेदार माधव
भण्डारीले जानकारी दिए । उनीहरुले पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने पनि
फैसलामा उल्लेख छ ।
अदालतले
त्रिपुरासुन्दरी –१ का ३९ वर्षीया कोपिला दमै र त्रिपुरासुन्दरी –३ की ३९ वर्षीया
कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र एक/एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।
मानव
बेचविखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको विसं २०७९ पुस २० गते
भारतको दिल्लीस्थित मङ्गलबजार गल्ली नं. २, बापरुल्लाबाट उद्धार गरी एयर इण्डियाको
जहाजद्वारा स्वदेश ल्याइएको थियो ।
मामाघरमा
बसेर अध्ययन गर्दै आएकी किशोरी विसं २०७९ मङ्सिर १५ गतेदेखि घर परिवार र आफन्तको
सम्पर्कमा नआएपछि उनको खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो
।
बालिकालाई
तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनि बालिकालाई
प्रलोभन देखाएर भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ । मामाघरमा बस्दै आएकी
बालिकालाई भारत पुर्याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।
अभियुक्तहरुले
६० केजी तौल भएको, कम्तीमा
उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र
रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाएको जनाइएको छ ।
किशोरीलाई
२०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भइरहेको अवस्थामा बालिकाको
उद्धार गरी स्वदेश ल्याइएको थियो । किशोरीलाई दिल्ली पुर्याएपछि घटनामा संलग्न
पाँच जना एक महिना अघि नै नेपाल फर्केका थिए ।