धनगढीबाट काठमाडौं जाँदै गरेको बस कपिलबस्तुमा दुर्घटना हुँदा २२ यात्रु घाइते

Jhalkonepal

कपिलबस्तु- धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस कपिलबस्तुको शिवराज नगरपालिका–१ स्थित बनकसबासमा दुर्घटनामा परेको छ। पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्।

ना १ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए। उक्त बसमा करिब ४० जना यात्रु सवार मध्ये २२ जना घाइते भएको डीएसपी सिंहको भनाइ छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको डीएसपी सिंहले जानकारी दिए।

दुर्घटनापछि प्रहरी निरीक्षक सुजन शाहको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा उद्धार र अनुसन्धान कार्य जारी राखेको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया