काठमाडौं , असोज ३०
डेंगी सङ्क्रमणबाट देशभर हालसम्म नौ
जनाले ज्यान गुमाइसकेका छन् । देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । डेंगी
सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण
महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार
पाँच ९९ पुगेको छ ।
डेंगी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको
छ । काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका
छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ । यस्तै
तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा
नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा
५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५
तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ
।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका
संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्,“पोस्ट
मनसुन सुरु हुँदा डेंगीको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेंगीका
बिरामी बढिरहेका छन् । समुदायमा डेंगी सङ्क्रमण फैलिएको देखिन्छ ।”
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा
डेंगी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगी एडिस एजिप्टाई
जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको
टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी
वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा
घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने
बेला झुलको प्रयोग गर्नुपर्छ ।
मुख्यतः लामखुट्टेको
टोकाइबाट जोगिनुपर्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”