काठमाडौं । सरकारले कर प्रणालीमा पारदर्शिता र बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्न सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्यचिठ्ठा सार्वजनिक भएको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्म भएका कारोबारमध्येबाट विजेता छनोट गरेको हो।
पहिलो चरणमा एक किराना पसलबाट २५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। कुपन नम्बर ००७३१५२५४४९३ का विजेतालाई नियमानुसार २५ प्रतिशत कर कट्टा गरी ७ लाख ५० हजार रुपैयाँ नगद प्रदान गरिने विभागले जनाएको छ।
त्यस्तै, थप १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँको उपहार जितेका छन्। कर कट्टापछि उनीहरूले जनही १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्।
विभागका अनुसार विजेता छनोट दुई करोड ५६ लाख आठ हजार ९४ वटा विद्युतीय कारोबार र सात हजार ७७ वटा नगद कारोबारमध्येबाट गरिएको हो। छनोट प्रक्रियामा सुरक्षित र निष्पक्ष मानिने ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्यान्डम स्याम्प्लिङ विदआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको थियो।
सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल माग्न र व्यवसायीलाई बिल जारी गर्न प्रोत्साहित गर्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमार्फत यो कार्यक्रम ल्याएको हो।
कार्यक्रमले मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्य कर चुहावट नियन्त्रणसँगै डिजिटल भुक्तानीलाई समेत प्रोत्साहन गर्ने सरकारको अपेक्षा छ।
उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताले सम्बन्धित वेबसाइटमा खरिद बिलको विवरण र बिक्रेताको स्थायी लेखा नम्बर (पान) प्रविष्ट गर्नुपर्नेछ। नगद भुक्तानीबाट कम्तीमा १०० रुपैयाँको खरिद गर्नेले बिल अपलोड गर्नुपर्नेछ भने विद्युतीय भुक्तानीमार्फत भएका कारोबार स्वतः कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ।