काठमाडौँ, असोज १९
दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।
अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीको महान चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् ।
समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु दोब्बर/तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ । यातायात व्यवसायी भने निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताउँछन् ।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताउनुहुन्छ ।
देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ । “दसैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।
महासङ्घका अनुसार हाल मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, विपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् । यस्तै, काठमाडौँबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ ।
सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण हुँदै आएको छ ।
१८ असोज २०८०, शुक्रबार १२:१२ मा प्रकाशित