स्वास्थ्यचौकी उद्धघाटन गर्न गएका स्वास्थ्यमन्त्रीले भने चिकित्सा शिक्षा ऐन संसोधन हुन्छ

Jhalkonepal

काभ्रे ,  कार्तिक २७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उहाँले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताउनुभयो । “बर्षौदेखि रोकिएको काम अब सुरु गर्छौं”, मन्त्री बस्नेतले भन्नुभयो– “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं ।” एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उहाँले बताउनुभयो ।

वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो । “हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ”, उहाँले भन्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।  जोगिटारस्थित स्वास्थ्यचौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उहाँले मन्त्री बस्नेतसित आग्रह गर्नुभयो ।


प्रतिक्रिया