बैंक नोट बाहेकका सरकारी कागजात अब नेपालमै छापिने, सरकारको तयारी

Jhalkonepal

काठमाडौं- सरकारले बैंक नोट बाहेकका सबै सरकारी कागजातहरू नेपालमै छपाइ गर्ने तयारी अघि बढाएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार अब हुलाक टिकट, स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, स्मार्ट कार्ड र पासपोर्ट जस्ता कागजात नेपालकै सुरक्षण मुद्रण केन्द्रमा छापिनेछ।

आइतबार आयोजित १८औं पुस्तकालय दिवस २०८२ को मूल समारोहमा बोल्दै मन्त्री गुरुङले विगतमा विदेशमा छपाइ हुँदै आएको हुलाक टिकट समेत अब नेपालमै छापिने व्यवस्था गरिएको जानकारी दिए। उनले भने, “यो वर्षदेखि बैंक नोट बाहेकका सबै कागजातहरू यहीं छापिनेछन्। हुलाक टिकट पनि अब बाहिर छाप्दैनौं। विगतमा विदेशी मुद्रणमा निर्भर थियौं, तर अब त्यो अन्त्य भएको छ।”

यद्यपि चालु आर्थिक वर्षमा कर्मचारी व्यवस्थापनमा केही ढिलाइ भएकाले भिसा कार्ड, हुलाक टिकट र लालपुर्जाजस्ता केही कागजातहरू जनक शिक्षा सामग्री केन्द्रमार्फत छपाइ गरिएको उनले स्पष्ट पारे। उनले भने, “हाम्रो कर्मचारी व्यवस्थापन पूरा हुन अझै एक साता लाग्छ। त्यसपछि सबै छपाइ सुरक्षण मुद्रण केन्द्रमै हुनेछ।”

बैंक नोटको सन्दर्भमा भने उनले छुट्टै मेसिन आवश्यक पर्ने भएकाले त्यसका लागि विदेशी मुद्रणकै सहारा लिनुपर्ने बताए। भविष्यमा यस्ता महत्वपूर्ण दस्तावेज छपाइका लागि सरकारका सबै मन्त्रालय, विभाग तथा निकायले सूचना तथा सञ्चार मन्त्रालयमार्फत मात्र प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरे।

प्रतिक्रिया