काठमाडौँ, भदाै १३
सङ्घीय संसद्को बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री
केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक
वर्ष २०७९/८० पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित
अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात
उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली
विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डाँगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी
कांसकार रहनेछन् ।
साथै
सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक
प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पद्यमप्रसाद पाण्डेयले
जानकारी दिएका छन् ।