काठमाडौं, पुस १९
संघीय
संसद् अन्तर्गत आज ६ वटा समितिको बैठक बस्दै छ ।
जसमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११
बजे कानून,
न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बस्दै छ ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को सम्बन्धमा छलफल हुँदै छ ।
अन्तर्राष्ट्रिय
सम्बन्ध र पर्यटन समितिको बैठक पनि आज बिहान ११ बजे समितिको सभाकक्षमा बस्दै छ ।
बैठकको कार्यसूचीमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा
सञ्चालनका सम्बन्धमा र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिको विषयमा छलफल
हुँदै छ ।
यस्तै, अर्थ
समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक कक्षमा बस्दै छ । बैठकमा भन्सार
सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिँदै छ ।
त्यसैगरी, कृषि, सहकारी
तथा प्राकृतिक स्रोत समितिको ३१ औं बैठक पनि आज ११ बजे बस्दै छ । बैठकमा नेपालमा
जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट
भएका प्रयासहरु तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको
सहभागिताको अवस्था,
यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा
यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धीमूलक बनाउने
सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल
गरिँदै छ ।
यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको पचपन्नौँ बैठक
बिहान ११ः३० बजे बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न
बनेको विधेयक सम्वन्धमा छलफल गरिनेछ ।
आज संघीय संसद्, राष्ट्रिय
सभा, विधायन व्यवस्थापन समितिको २९ औँ बैठक पनि बस्दै छ ।
बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१
माथि दफावार छलफल हुँदै छ । बैठक बिहान ११ः०० बजे बस्दै छ ।