काठमाडौं,कार्तिक २१
यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई हराएको छ । बुधवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि ६७ रनको फराकिलो जित निकालेको हो ।
नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो ।
नेपालका लागि रचना चौधरीले ४, कप्तान पुजा र रिया शर्माले समान २ तथा मनिशा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।
त्यसअघि युएईको अजमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो ।
नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५, सोनी पाख्रिनले २५ बलमा १९ तथा सिमाना केसीले १९ बलमा नट आउट १९ रन जोडिन् । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।