काठमाण्डाैं , फागुन २६
राष्ट्रिय स्वतन्त्र पार्टीले
केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
केन्द्रीय कमिटीको बैठक फागुन २८ गते सोमबार मध्याह्न साढे १२ बजे बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।
महामन्त्रीका अनुसार उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारीका लागि रास्वपाको केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।
निर्वाचनका लागि रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ । यसअघि बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ को चुनावी कमान्डरका रूपमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरिसकेको छ ।
त्यस्तै, फागुन १९ गते रास्वपाले इलाम क्षेत्र नम्बर २ का ६ वटै पालिकामा ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम भएको महामन्त्री ढकालले बताए ।
सोबिता गौतम इलाम नगरपालिका पुगेर
आएकी थिइन्, गणेश पराजुली देउमाई नगरपालिका गएका थिए भने मनिष झाले माई नगरपालिकामा
अन्तर्क्रिया गरेर फर्किएका थिए।
अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र असिम शाह फाकफोकथुम
गाउँपालिका गएका थिए ।
नेकपा (एमाले) का सांसद सुवास
नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त
भएको हो ।
चैत २४ गते उम्मेदवारी दर्ता गर्ने
गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ ।