काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई प्रतिनिधि सभा निर्वाचनको तयारी तुरुन्त अगाडि बढाउन निर्देशन दिएकी छिन्।
प्रधानमन्त्री कार्यालयमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री कार्कीले आउँदो २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। उनले आयोगलाई आवश्यक स्रोतसाधन, जनशक्ति तथा सुरक्षा व्यवस्था सरकारले सुनिश्चित गर्ने प्रतिवद्धता जनाउँदै तयारीमा ढिलाइ नगर्न आग्रह गरिन्।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आयोगले आवश्यक पर्ने अधिकांश सामग्रीहरू (जस्तै मतपेटिका) मौज्दातमै रहेको र बाँकी सामग्रीहरू पनि देशभित्रै उत्पादन भएका सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धामार्फत खरिद गरिने जानकारी गराए। साथै, निर्वाचन प्रक्रियामा राजनीतिक दल र अन्य सरोकारवालासँग समन्वय गर्दै जान आयोग तयार रहेको उनले बताए। उनले सरकारले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए।
बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून मन्त्री अनिल कुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्यालसहित सम्बन्धित अधिकारीहरू तथा आयोगका निर्वाचन आयुक्तहरू डा। जानकी कुमारी तुलाधर, सगुन सम्शेर जबरा र सचिव महादेव पन्थ पनि सहभागी थिए।