मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन : मन्त्री यादव

Jhalkonepal

काठमाण्डाैंं, साउन ५

खानेपानीमन्त्री यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् ।

सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

उनले काठमाडौंवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे । उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।”

मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे ।

उनले भने, “पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ ।”

मन्त्री यादवले काठमाडौँमा मात्र नभइ देशका अन्य स्थान, विशेष गरी तराई–मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे । उनले मधेसमा चापाकल (ह्याण्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको जानकारी दिए । उनले भने, “कुनै जमानामा तराई–मधेस क्षेत्रमा ८० फिट खन्दा पानी आउँथ्यो, तर अहिले चार सय फिट खन्दा पनि पानी आइरहेको छैन, समस्या विकराल छ, यसलाई समाधान गर्न हामीले काम गरिरहेका छौंँ ।”

प्रतिक्रिया