काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् ।
इतिहासमा पर्वत जिल्लाको नागरिककोतर्फबाट पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई उनकै निवासमा नै पुगी सम्मान गरिएको हो ।
सो सम्मान कार्यक्रमलाई बोल्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले अदम्य सहास बोकेका किरणको सफल आरोहणको प्रशंसा गरे ।
भारतीय सेनामा कार्यरत किरणको आरोहणले पर्वत जिल्लाको मात्रै नाम उच्च नबनेर हरेक नेपाली साहासी हुन्छन भन्ने सन्देश भारतीय सेनामा पनि फैलाएको उनको भनाई छ ।
अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष गुरुङले नेपालमा हालै भएको जेनजी प्रदर्शनको क्रममा राष्ट्रिय सम्पत्तिहरु जलेकोमा दुःख व्यक्त गरे ।
सम्मान पश्चात आरोही पि.सीले आफूलाई जन्माएको धर्तीप्रति आफू सदैव ऋणी भएको बताए ।
आफ्नो मातृभूमिको शक्तिकै कारण मातृभूमिमै रहेको सर्वोच्च शिखरमा आरोहण गर्न सकेकोमा उनले खुसी व्यक्त गर्दै जन्म ठाउँ र देशको नाम राख्नको लागि आफू सधैँ प्रयत्नशील रहने बताए ।
हाल भारतीय सेनामा कार्यरत रहेका पि.सी.ले गत जेठ १३ गते भारतीय सेनाका तर्फबाट सगरमाथाको सफल आरोहण गरेका थिए ।
२०७४ सालमा भारतीय सेनामा भर्ती भएका उनले भारतीय सेनाको रजत जयन्ती सगरमाथा अभियानको हिस्साका रूपमा सगरमाथाको आरोहण गरेका थिए ।