धनगढी, बैशाख २४
भारत भ्रमणबाट फर्किएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मलेन गरि भ्रमण उपलव्धीमुलक भएको बताएका छन । एक साताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताएका हुन्। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको बताए।
योगी आदित्यनाथ र आफूबीच केवल विकासका मात्र कुरा भएु, उनले भने, संघीयतालाई बलियो बनाउन र सुदूरपश्चिमको विकास र समृद्धिका बारेमा केन्द्रित रह्यौँ भ्रमणका क्रममा कुनै राजनीति विषयमा कुराकानी भएन। मुख्यमन्त्री शाले भ्रमणका क्रममा पलियाकलाँ–गौरीफन्टा सडक र तिकुनिया–खक्रौला सडक स्तरोन्नति तथा दार्चुला, बैतडी र डडेलधुरास्थित महाकाली नदीमा पुल निर्माण, टनकपुर ब्यारेजको आवागमन सहज बनाउन, र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले भारतीय समकक्षीसँग कुरा राख्दा उनीहरू सकारात्मक रहेको आफूले पाएको उनले जानकारी दिए।
नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिने नागरिकको कैलाली र गड्डाचौकी भन्सार चेकप्वाइन्टमा अभिलेख राख्ने विषयमा उहाँहरू सहमत हुनुभयोु, उनले भने। एक प्रश्नको जवाफमा मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भएको भेटघाटपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण छिट्टै हुन लागेको संकेत आफूले पाएको बताए।
भ्रमणको निमन्त्रणाका लागि भारतीय सरकारलाई धन्यवाद दिन चाहन्छु र भ्रमणको लागि मार्गदर्शन गर्नुहुने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीप्रति हार्दिक आभार व्यक्त गर्दछु। यही वैशाख १६ गते भारत भ्रमणमा निस्केको मुख्यमन्त्री शाह नेतृत्वको टोली आज लखनऊबाट स्थलमार्ग हुँदै धनगढी आइपुगेको हो।