डेढ महिनादेखि हराइरहेका टेकबहादुर वलीको कंकाल जंगलमा फेला

Jhalkonepal

सल्यान- मेला हेर्न घरबाट निस्किएपछि बेपत्ता भएका बाग्चौर नगरपालिका–४ पानीखानाका ३६ वर्षीय टेकबहादुर वलीको डेढ महिनापछि कंकाल अवस्थामा शव भेटिएको छ।

कात्तिक १४ गते दार्मा गाउँपालिका–५ त्रिबेणीमा लाग्ने मेला हेर्न निस्किएका वली त्यसदिनपछि घर फर्किएनन्। निरन्तर खोजी भइरहे पनि उनको अत्तो–पत्तो नलागेको परिवार र प्रहरीले जनाउँदै आएका थिए।

वलीको कंकाल सल्यान–रुकुम सीमा नजिक, रुकुमको त्रिबेणी गाउँपालिका–३ झन्डा हान्ने वरिपरि रहेको जंगलमा भेटिएको बाग्चौर–४ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए। भेटिएको शवसँगै रहेको कपडा, गलबन्दी तथा पर्समा रहेका कागजातका आधारमा शव वलीकै भएको पुष्टि गरिएको छ।

वडाध्यक्ष बस्नेतका अनुसार कंकाललाई पोष्टमार्टमका लागि रुकुम पश्चिम जिल्ला अस्पताल लगिएको छ। उनले भने, “स्थानीयले बाफुखोलामाथिको जंगलमा शव देखिएको जानकारी दिएपछि खोजी गर्दै जाँदा वलीकै कंकाल भेटियो।”

प्रतिक्रिया