काठमाडौं, असार १
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि
६४ अर्ब ५४ करोड चार लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री
जगन्नाथ थपलियाले शनिबार प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि
बजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ २६ अर्ब १० करोड
१६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख
रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च
बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४
अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।
प्रदेश सरकारले चालु आर्थिक
वर्षको तुलनामा एक अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । चालु
आर्थिक वर्षमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेश सरकारले व्यावसायिक
उत्पादन वृद्धि तथा थप रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह
कार्यक्रमलाई निरन्तरता दिनको लागि एक अर्ब ५० करोड छुट्याएको छ । त्यस्तै, मन्त्री थपलियाले प्रदेश सडक यातायात गुरुयोजना बनाएर काम गर्न सात अर्ब
७८ करोड बजेट विनियोजन गरेका छन् ।
गुरुयोजनामा प्रदेश लोकमार्गमा २०
वटा र प्रदेश मार्गमा २३० वटा सडक राखिएको छ । बागमती सरकारले सडक, पुल र झोलुङ्गे पुलका लागि दुई अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको
छ ।