काठमाण्डाैं , चैत
२९
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने भर्ना अभियानका साथ नयाँ शैक्षिकसत्र २०८१ का लागि आगामी वैशाख २ गतेदेखि
देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा
मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी
कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
अभियानको पहिलो दिन वैशाख २ गते सबै
स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको
उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्रिर्या गर्ने कार्यक्रम छ । वैशाख २
देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव
स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाउनुभयो ।
नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन
अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा
बिक्री केन्द्रमा शैक्षिकसत्र २०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको
बताए।
केन्द्रले प्रकाशन गरेको
कार्यतालिका अनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री
भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्याएको थियो ।
कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्व प्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत 'अनुमतिप्राप्त' प्रकाशनका पाठ्य सामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।