काठमाडौं- आगामी तीन दिनसम्म देशभरका लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ। लगातार भारी वर्षाको पूर्वानुमानसँगै उत्पन्न हुन सक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो निर्णय गरेको हो।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा असोज १८, १९ र २० गते लामो दूरीका सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारीका साथै काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी पनि रोक लगाइएको छ।
प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “भारी वर्षा र अति भारी वर्षाका कारण सम्भावित बाढी, पहिरो र डुबानजस्ता जोखिम न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका लामो दूरीका सवारी साधन सञ्चालन नगर्न सूचित गरिन्छ।”
साथै, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू, सुरक्षा निकायहरू, र सरोकारवाला निकायलाई सवारी साधनको आवतजावत नियन्त्रण गर्न, रोक लगाउन तथा निगरानी र अनुगमन गर्न प्राधिकरणले अनुरोध गरेको छ।
१७ असोज २०८२, शनिवार १०:५७ मा प्रकाशित