सिराहा, फागुन १७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज मृतक रिङ्कुको घरमा पुगेका हुन् ।
आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।