बिपी राजमार्ग अन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध

Jhalkonepal

काठमाण्डौ, साउन १

मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्ग अन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ ।

काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचना अनुसार साउन १ गतेदेखि साउन मसान्तसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो । सार्वजनिक र निजी दुवै खालका सवारीसाधन अब रातको समयमा चल्न पाउने छैनन् ।

मनसुन सक्रिय भइरहेका बेला असुरक्षित सडक खण्डमा दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया