नेपाल कम्युनिस्ट पार्टी र अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता, सुवेदी संयोजक चयन

Jhalkonepal

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी र अखिल नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता भएको छ। सोमबार आयोजित एक कार्यक्रममार्फत दुबै पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखिएको छ।

एकीकृत पार्टीको संयोजकमा लोकनारायण सुवेदी चयन गरिएको छ। पार्टीले १४ सदस्यीय सचिवालय र ३५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। सचिवालयमा नारायणप्रसाद शर्मा, शरणविक्रम मल्ल, लक्ष्मण उप्रेती, भीम सेढाई, एकलाल श्रेष्ठ, पुष्कर गौतम, महेन्द्र जोशी, अन्कुलकुमार राउत, मुकुन्द आचार्य, रामदुलार महतो, भीमकुमार वान्तवा, बद्री अधिकारी र महादीप पोखरेल रहेका छन्।


कार्यक्रममा बोल्दै नेताहरुले नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा हुने जानकारी दिएका छन्। पार्टीको उद्देश्य नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादमार्फत साम्यवादी समाज निर्माण गर्नु रहेको उल्लेख गरिएको छ।

क्रान्तिको बाटो सशस्त्र संघर्ष र जनविद्रोहको संयोजन हुने एकता घोषणापत्रमा उल्लेख गरिएको छ। घोषणापत्रमा शोषित र उत्पीडित वर्ग तथा समुदायलाई नयाँ जनवादी क्रान्तिका प्रेरक शक्तिका रूपमा परिभाषित गरिएको छ। यस्तै, संसदीय व्यवस्था, सामन्तवाद र साम्राज्यवादबीच मुख्य अन्तरविरोध रहेको बताएको छ।

नेताहरुले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कारण जनस्तरमा असन्तोष विस्फोट भएको उल्लेख गर्दै देशभक्त, क्रान्तिकारी शक्ति तथा उत्पीडित वर्गलाई गोलबन्द गरी वैकल्पिक क्रान्तिकारी राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्।

नयाँ एकतालाई कम्युनिस्ट आन्दोलन पुनर्गठनको सुरुआती प्रक्रिया भन्दै विभिन्न क्रान्तिकारी पार्टी, समूह, संघसंस्था र स्वतन्त्र व्यक्तिहरुलाई एकीकृत गर्ने प्रयास भइरहेको जानकारी समेत दिइएको छ।

प्रतिक्रिया