मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई संविधानकै दोष देखाउनु अनुचित भएको स्पष्ट पारेका छन्।
संविधान दिवस २०८२ को अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधान जनताको बलिदानबाट प्राप्त अमूल्य दस्तावेज भएको स्मरण गराउँदै यसलाई केवल कानुनी संरचना हैन, जनभावनाको प्रतिनिधि सजीव प्रतीकका रूपमा लिनुपर्ने बताए।
उनले राजनीतिक दलहरूलाई आत्मसमिक्षा गर्दै जिम्मेवारी स्वीकार गर्न आह्वान गर्दै भने, “हामीले अनुहारमा धुलो लाग्दा ऐना पुछ्ने हो भने त्यो गल्ती नचिन्ने सोच हो। बारम्बार गल्ती दोहोर्याउनु मूर्खता हो, यसको अन्त्य हुनैपर्छ।”
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौम जनसत्ता, मौलिक हक तथा स्वतन्त्रताको संरक्षण गरेको उल्लेख गर्दै उनले वर्तमान संविधान नै न्याय, समानता र समावेशीतामा आधारित समाज निर्माणको आधार भएको धारणा व्यक्त गरे।
प्रदेश प्रमुख देवकोटाले स्वाभिमान, स्वाधीनता, सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहितालाई कार्यान्वयनको केन्द्रमा राख्दै परिणाममुखी सेवा प्रवाहमा सबै तहका नेतृत्वदायी निकायलाई जुट्न आग्रह गरे।
उनको भनाइमा, संविधानलाई दोष दिएर व्यक्तिगत वा संस्थागत कमजोरी लुकाउने प्रवृत्तिको अन्त्य गर्दै अब जनताले देख्ने र अनुभूति गर्ने सकारात्मक परिणाम दिनेतर्फ केन्द्रित हुनुपर्ने समय आएको छ।