काठमाडौं, भदाै २१
सनातन धर्मावलम्बी महिलाहरूले शुक्रबार उमामहेश्वरको
व्रत तथा पूजा-आराधना गरी भाद्र शुक्ल तृतीया अर्थात् तीज मनाउँदैछन्।
धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले
हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को
दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
भाद्र शुक्ल
तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना
गर्ने परम्परा छ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले
अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय
वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका
पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका
(तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल
तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा
पारिवारिक सुख,
शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास
छ ।
सत्ययुगमा हिमालय पुत्री
पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा
यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
वरदानविपरीत पिता हिमालयले
पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या
सुनाए । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले
नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत
गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको
दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने
प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।