पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी श्रीमती बुशरा
बीबीलाई दिइएको १४ वर्षको सजाय निलम्बन भएकाे छ ।
इमरान खान र उहाँकी श्रीमती बुशराले यही वर्षको जनवरीमा
इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टको तर्फबाट तोशाखाना मामिलामा सुनाइएको सजाय
निलम्बित गर्नका लागि उच्च अदालतमा अपिल गर्नुभएको थियो । इस्लामाबाद उच्च अदालतका
मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश मियाँ गुल हसनको दुई सदस्यीय इजलासले यही
निवेदनको सुनुवाइ गर्दै आज यो फैसला सुनाएको बीबीसी हिन्दीले जनाएको छ ।
अदालतले तोशाखाना मामिलामा सजाय निलम्बित गरे पनि इमरान
खान तत्काल जेलबाट बाहिर आउन पाउनुहुने छैन । उहाँमाथि अन्य केही मुद्दा पनि
चलिरहेको छ ।
पूर्वक्रिकेटरसमेत रहेका ७१ वर्षीय
इमरान खानले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा
नगरेको भन्दै इस्लामाबाद अदालतले दोषी ठहर गरेको थियो ।