काठमाडौं- वडादशैंको मुख्य दिन देशभरको मौसम प्रतिकूल बनेको छ। धेरैजसो स्थानमा झरी परिरहेको छ भने केही ठाउँमा लगातार वर्षा भइरहेको छ, जसका कारण दशैंको उल्लासमा पनि प्रभाव परेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यो अवधिमा पूर्वी तथा मध्य क्षेत्रका धेरै स्थानमा भारी वर्षा र आकस्मिक बाढीको सम्भावना रहेको विभागको भनाइ छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसाबाट स्थलमार्ग हुँदै मध्य भारततर्फ सर्दैछ। सो प्रणालीको असरले नेपालको विभिन्न प्रदेशहरूमा मनसुनी गतिविधि थप सक्रिय हुने देखिएको छ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अझ सक्रिय हुने देखिएको छ। यसले गर्दा नारायणी, बागमती, कमला, कोशीलगायतका ठूला नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने विभागले जनाएको छ। कतिपय स्थानमा नदीको बहाव खतरा तहसम्म पुग्न सक्ने सम्भावना छ।
यस्तै, चुरे र महाभारत श्रृंखलाबाट बहने स–साना नदी नालामा पनि आकस्मिक बहाव आउने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।
खतराका मुख्य क्षेत्रहरूमा काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहट जिल्लाहरू रहेका छन्।
यसैबीच, सरकारले मौसमको बदलिंदो अवस्थालाई ध्यानमा राख्दै कृषि क्षेत्रका लागि पनि विशेष सल्लाह जारी गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले वर्षाको समयमा खेतबारीमा काम गर्दा सचेत रहन किसानहरूलाई अनुरोध गरेका छन्।
दशैंको समयमा हुने भारी वर्षाले जनजीवन मात्र होइन, कृषिमा पनि असर पुर्याउने भएकाले विभागले स्थानीय प्रशासन र नागरिकलाई आवश्यक सावधानी अपनाउन पुनः अनुरोध गरेको छ।