काठमाडौ फागुन २
भूमि समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पाएको छ। आयोगले विज्ञ सदस्यसहित अन्य सदस्यहरू पनि मनोनीत गरेसँगै पूर्णता पाएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेत्र प्रकाश पन्तलाई अध्यक्ष नियुक्त गरेको थियो। अब आयोगमा विज्ञ सदस्य दिल बहादुर सिजाली, सदस्यहरू दिल बहादुर देउवा र कल्पना चौधरी नियुक्त भएका छन्। पन्त र चौधरी नेकपा एमालेबाट, सिजाली र देउवा नेपाली कांग्रेसबाट नियुक्त भएका हुन्।
अध्यक्ष पन्तले आयोगले पूर्णता पाएपछि अब तीव्र रूपमा काम अघि बढाउने बताउनु भयो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भूमि आयोगले युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। यसअघि लालपुर्जा वितरणदेखि फारम संकलनसम्मका कार्य भएका थिए। करिब ६० हजार अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीहरूले फारम भरेका थिए। आयोग पुनः सक्रिय भएपछि जनताले लालपुर्जा पाउने आशा गरेका छन्, तर सरकार परिवर्तन हुँदा उनीहरू निराश हुने अवस्था दोहोरिने चिन्ता पनि व्यक्त गरिएको छ।