रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

Jhalkonepal

भक्तपुर, कात्तिक १० : नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदान लगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।

रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिनुभयो ।

मागअनुसार रगत उपलब्ध गराउन नसकेको सहमहामन्त्री मनोजकुमार थापाले बताउनुभयो । दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौँ, तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ, रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भएपछि दिएका छौँ, रित्तो फर्कनु परेको छैन ।”

रक्तदान नहुँदा आपत्कालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर पठाउने गरेको थापाले बताउनुभयो । भक्तपुरमा मात्रै नभई काठमाडौँ उपत्यकालगायत काभ्रपलाञ्चोक र उपत्यका बाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो । उहाँले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बाँच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैमा आह्वान गर्नुभयो ।


प्रतिक्रिया