काठमाण्डौं, बैशाख १८
बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०।०२ रूपैयाँ र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा एक रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ बढाएर पठाएको छ।
निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत राखेको छ।
नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा लिटरको १५८ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ।