काठमाडौँ, कात्तिक ६
वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ । मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो । भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन् ।
तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानी मन्दिर वसन्तपुर दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको एकपटक दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । यसैले गर्दा पनि यहाँ भक्तजनको भीड लागेको हो ।
हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा तलेजुका साथै जगन्नाथ, शिवपार्वती, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत सम्पदा छन् ।
सर्वसाधारणका लागि प्रत्येक वर्ष बडादसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइएको हो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । महाअष्टमीको रात्रिमा कालरात्रि नामले गरिने पूजामा यो बलि चढाउने गरिन्छ । नेपाली सेनाको मुख्यालयबाट मार हान्न सैनिक खटाउने गरिएको छ ।
५ कार्तिक २०८०, सोमबार ०१:०७ मा प्रकाशित