धनगढी, कार्तिक ५ : इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ । कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपाने, दार्चुला मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुखेडाका दीपेशराज बिष्टको शव आफन्तलाई बुझाइएको हो ।
मृतक चार विद्यार्थीको शव नेपाली सेनाको स्काईट्रकमार्फत् धनगढी विमानस्थलमा पुर्याइएको थियो । शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थलमा पुगेका थिए । विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, आफन्तजन लगायतले मृतकप्रति श्रद्धाञ्जलि गरेका थिए।
मृतकका आफन्तलाई शव बुझाउन कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुख विमानस्थल पुगेका थिए। मृतक मध्ये तीन जनाको शव पुग्न बाँकी छ । कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी वेपत्ता छन् । घटनामा घाइते भएका तीन जना उपचारमा रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।